
रोमन आचार्य
काठमाडौं । कोरोना संक्रमणको चपेटामा सर्वसाधारण र फ्रन्ट लाइनमा खटिएकाहरू मात्र होइन, संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउँदा त्यसले भीआईपीको विल्ला भिरेका सरकारका मन्त्रीहरूलाई समेत छाडेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमासमेत कोरोनाले इन्ट्री मारिसकेको छ भने प्रशासनिक मुख्यालय सिंहदरवार पनि संक्रमणबाट अछुतो छैन । प्रधानमन्त्रीको निकट बसेर काम गर्ने प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लहाकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई कोरोनाले छोइसकेको छ ।
महाधिवेशन आयोजक कमिटी र दलको बैठक ठाकेर कोरोनालाई स्वागत गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अघि दोस्रो पटक कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नुभयो । उर्जामन्त्री टोपबहादुर रायमाझी संक्रमण पुष्टि भएर यतिबेला सैनिक अस्पताल छाउनीमा हुनुहुन्छ । पर्यटन मन्त्री भानुभक्त ढकाल पनि संक्रमित हुनुभएको छ ।
रामनवमीका दिन चितवनको माडीमा हजारौं मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथि बन्नु नै ढकालका लागि घातक भयो । पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला कोरोनासँग जुधिरहनुभएको छ । नर्भिक अस्प्तालमा पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । उहाँहरूले भारतमा लागेको कुम्भ मेलाबाट कोरोना लिएर आउनुएको हो ।
संक्रमित हुुने भीआइपीहरूको लिस्ट लामो छ । पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र झलनाथ खनाल हुनुहुन्छ । पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि दुई हप्तासम्म कोरोनासँग जुध्नुपर्यो । पूर्वमन्त्री मीन विश्वकर्मा ग्रान्डी अस्पतालको भेन्टिलेटर र आईसीयूका कारण जसोतसो पुनर्जीवन पाउन सफल हुनुभएको छ । अहिले पूर्व मन्त्री शंकर भण्डारी कोरोनासँग जुधिरहनुभएको छ ।
जसपा नेतृ तथा पूर्व मन्त्री हिसिला यमी पनि कोरोना पीडित बन्नुभयो । कांग्रेस महामन्त्री शशांक कोइरालालाई पनि ओम हस्पिटलको आईसीयूले बचायो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोरोनासँग जुध्नुपरेको छ । कोरोनाका कारण पूर्व राजदूत समेत रहेका सांसद कमानसिंह लामा, पूर्व सांसदहरू मोहम्मदी सिद्धिकी, मानपुर चौधरी, रबनी चौधरी लगायतले ज्यान गुमाएका छन् ।
म भीआइपी हुँ र मलाई कोरोना संक्रमणले छुँदैन । म सँग सम्पति र अथाह शक्ति छ भन्ने घमण्ड कसैले राख्छ भने त्यो फगत खतरा उत्पन्न गर्ने मेसो भन्दा अर्को केही होइन । कोरोनाको नजरमा सबै समान, जो कोही संक्रमित हुन्छन् भन्ने प्रमाण खोज्न टाढा जानुपर्दैन । सुरक्षा संयन्त्र र केही सरकारी अस्पतालहरूमा भीआइपी भनिएकाहरुलाई बेड छुट्याएर उपचारको प्रबन्ध गर्दैमा ढुक्क हुन सकिन्न ।
प्रतिक्रिया दिनुहोस्