
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपैयाँ बराबरको उपचार खर्च व्यहोर्ने भएको छ । यसका लागि योगदानकर्ताले कम्तिमा तीन महिनाको रकम जम्मा गरेको हुनुपर्नेछ ।
यसअघि उपचारका लागि गरेको व्यवस्था अनुसार नै कोषमा सूचीकृत भएका श्रमिकले सो सेवा पाउने व्यवस्था गरेको हो । श्रमिकले अस्पताल भर्ना भएर उपचार गर्नुपरेमा एक वर्षमा एक लाख रुपैयाँ पाउने छन् भने कोरोना भएर घरमै उपचार गरे २५ हजार रुपैयाँ दावी गर्न पाउने कोषले जनाएको छ ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले यसअघिको योजनामा पर्ने सबै सेवा सुविधा भएका कोरोना संक्रमितले पनि उपचार खर्च पाउने बताउनुभयो । सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा आश्रित परिवारका सदस्यले सविधा पाउने कोषले व्यवस्था गरेको छ ।
हालसम्म सूचीकृत श्रमिकको मृत्यु नभएपनि संक्रमण भएकाहरुले भने उपचार खर्च पाइरहेको कोषले जनाएको छ । कोरोनाका कारण कोषमा आवद्ध श्रमिकको मृत्यु भएमा खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवारले आजिवन निवृत्तिभरण पाउने कोषले व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्