१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काेराेना महामारीमा पनि बझाङमा यार्सा संकलन गर्नेको लर्को


0
Shares

बझाङ । यार्सा संकलनको सिजन सुरु भएसँगै बझाङमा यार्सा सङकलन गर्नेको लर्को लाग्न थालेको छ । यार्सा सङ्कलनका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि मानिसहरु बझाङ पुग्ने गरेका छन् ।

कोरोनाको दोस्रो लहरले भयावह रुप लिदै जाँदा बझाङमा बाहिरबाट आउने मानिसका कारण जोखिम बढाएको छ । बाहिरी जिल्ला तथा भारतबाट आउनेहरुलाई गत बर्ष स्थानीय तहहरुले बिभिन्न ठाँउमा क्वारेन्टाईन बनाएर सुरक्षित ठाउँमा राखेका थिए । यस वर्ष सोझै होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।

तर उनीहरु होम क्वारेन्टाईनमा बस्नुको साटो गाउँघरमा घुलमिल हुने तथा सोझै यार्सा संकलनका लागि लेकतिर जाने गरेका छन् । बैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी संकलनका लागी मानिसहरु लेकतिर जाने गर्दछन्  । बिगतमा भन्दा यो वर्ष यार्सा संकलन गर्न जानेको संख्या बढ्ने देखिन्छ ।

लामो समयसम्म खडेरी परेका कारण खेतबारीमा लगाएको अन्नबाली सबै सुकेकाले यार्सा संकलन गर्न लेकतर्फ जानेको सङ्ख्या बढने अनुमान गरिएको छ । हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि ४०/५० हजार भन्दा बढी मानिसहरु लेकतिर जाने गरेका छन् ।

ग्रामिण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला यसरी हजारौको संख्यामा मानिसहरु लेकतिर जाँदा जोखिम झन बढेको छ । कोरोनाका कारण बझाङमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने जोखिम बढेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको बीचमा पनि बझाङमा यार्सा सङ्कलन गर्न जानेको लर्को लागेको हो ।

बझाङको सुर्मा, साइपाल, तलकोट, मष्टा, छविस पाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयहरुको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुडी नै रहेको छ । गतवर्ष जिल्ला विपद व्यवस्थापन समितिले संकलन कार्यमा रोक लगाईएको भए पनि यसवर्ष संकलन कार्य रोक्ने नरोक्ने बारे कुनै जानकारी नआएको डिभिजन वन कार्यलय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर खातीले बताउनुभयो ।