१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर दलहरु आन्तरिक छलफलमा


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि विपक्षीहरु आ–आफ्नो रणनीति बनाउन लागेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा रहँदा माओवादी केन्द्र पनि ओलीलाई हटाउने रणनीतिमा छ ।

प्रधानमन्त्री ओलीलाई लिएर स्पष्ट दुई धारमा विभाजित जसपाको पनि एक पक्ष यही सरकार टिकाउने र अर्को पक्ष जसरी पनि ओलीलाई हटाउने योजनामा छन् । यती मात्र होइन् एमालेको खनाल–नेपाल पक्ष पनि प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर तीव्र छलफलमा छ ।

विश्वासको मत लिए लगत्तै आफूहरूलाई कारबाही हुन सक्ने भन्दै एमालेको खनाल–नेपाल पक्षीय प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाल–खनाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना प्रत्यक्ष निर्वाचित छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यसअघि नै किन कारबाही नगर्ने भनेर ३० जनालाई स्पष्टीकरण सोधिसकेका छन् ।

अर्को सरकार बन्ने ग्यारेन्टी नहुँदासम्म समर्थन फिर्ता नलिने बताउँदै आएको माओवादी पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । योसँगै कुनै बेला दुई तिहाइ बहुमतको सरकार अहिले अल्पमतमा परेको छ ।

बजेट अधिवेशनमा आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नै पास हुन नदिने विपक्षीहरूको रणनीति बुझेपछि ओलीले २७ गते विश्वासको मत लिने मनासाय बनाएको ओली निकट नेताहरुले बताएका छन् । कांग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तर ओलीले एमालेका सबैको र अन्य पार्टीका १३ सांसदको समर्थन जुटाउन सके बाँकी अवधि पनि यही सरकारले निरन्तरता पाउनेछ ।