१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकमा आजदेखि ‘निषेधाज्ञा’, दुई वडा ‘सील’


0
Shares

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितहरु तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लाका नौ स्थानीय तहका बढी चहलपहल हुने क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसंखु पाखर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ६ बजे देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरेको छ ।

अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउ देखि खाडिचौर-बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, खाडिचौर देखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, बन्देउ देखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी-सिपाघाट-मेलम्ची-सेरा-हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ ।

चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफि देखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै कोरोनाको हटस्पट बनेको कदमवास र कुभिन्डे आज बिहान ६ बजे देखि वैशाख ३१ सम्म सील गरिएको छ । चौतारा नगरपालिकाका ४ र ९ वडामा पर्ने यी ठाउँमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा बढेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कदमवासमा २४ जना र कुभिण्डेमा ३० जना संक्रमित भएका छन् । यस्तै कुभिन्डेका दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लामा दोस्रो लहरमा हालसम्म १ सय ५६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।