
काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा सहयोगी मानिएको औषधि रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा महाराजगञ्जबाट १ जना पक्राउ परेका छन् ।
गोरखा घर भएका रसिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

१ सेट (६ भाइल) रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो । रेम्डिसिभिर औषधिको एक सेट (६ भाइल)को नेपालमा अधिकतम् मूल्य ३० हजार रुपैयाँ तोकिएको छ ।
प्रहरीसँगको बयानमा अभियुक्तले त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका दिपक ढकालले भनेअनुसार तोकिएको भन्दा धेरै मूल्यमा बेचेको बताएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक पंगेनीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्