
पोखरा । अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशनको अर्काे बैठक वैशाख २७ गते बस्ने भएको छ ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले २७ गते ११ बजे बैठक बस्ने निर्णय गरेको हो । सत्तापक्ष र प्रतिपक्ष समेतको सहमतिमा बैठक आह्वान गरिएको हो । सत्तापक्षले यसअघि जेठ लागेपछि बैठक बोलाउने भन्दै आएको थियो भने विपक्षी जतिसक्दो छिटो बैठक बोलाउनुपर्ने पक्षमा थिए ।
दुवैपक्ष अडानमा लागेपछि मध्यमार्गी मिति खोजिएको सत्तारुढ सांसद मायानाथ अधिकारीले बताए । कोभिड लागेका सांसदलाई अलग्गै बस्ने व्यवस्था मिलाएर संसद बैठक बस्ने सभामुखले बताउनुभएको छ । कोभिड लागेका सांसदले बोल्न नपाए पनि भोट भने हाल्न पाउनेछन् ।
बैठकमा मुख्यमन्त्रीको साटो अधिकारप्राप्त मन्त्रीले उनको तर्फबाट जवाफ दिनेछन् । मुख्यमन्त्री गुरुङ अहिले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा हुनुहुन्छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन कांग्रेस सहित ३ दलले विशेष अधिवेशन मागेर प्रदेश प्रमुखको पत्र दर्ता गरेका थिए ।
वैशाख १३ गते सुरु भएको विशेष अधिवेशनमा वैशाख १५ गते अविश्वासको प्रस्तावमाथि मतदानको कार्यसूची रहेको थियो । जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको सूचना पाएपछि सभामुखले बैठक स्थगित गरेका थिए । त्यसपछि सत्तापक्षले यो कदमको विरोध गर्दै आएको थियो ।
गण्डकी प्रदेशमा कुल ६० सांसद छन् । तीमध्ये नेकपा एमालेका २७ जना, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ जना सांसद छन् ।
गत वैशाख २ गते प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपाका गरी २८ सांसदले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री विरुद्ध अविश्वास पत्र दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्