
दिपेन्द्र अधिकारी
काठमाडौं । कोभिड महामारीका कारण जारी निषेधाज्ञाले त्रिभुवन विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत साढे चार लाख विद्यार्थीको परीक्षा प्रत्यक्ष प्रभावित भएको छ ।
अघिल्लो पटकको बन्दाबन्दीमा निकास दिन नसक्दा एकै कक्षामा दुई शैक्षिक सत्रका विद्यार्थी पढाउन बाध्य विश्वविद्यालयले अब, सम्भव भएसम्मका उपाय अवलम्बन गरी क्यालेण्डर प्रभावित हुन नदिने जनाएको छ । त्रिभुवन विश्वविद्यालय स्नातकतह दोस्रो वर्षमा १ लाख ७० हजार विद्यार्थीले परीक्षा दिइरहेका थिए । परीक्षा सकिन तीन दिन बाँकी रहँदा निषेधाज्ञा जारी भयो र परीक्षा नियन्त्रण कार्यालयले परीक्षा स्थगित गर्न बाध्य भयो ।
वैशाख मसान्तसम्म आवेदन दिन मिल्ने गरि स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर दोस्रो वर्षको परीक्षा आवेदन खुलेको थियो, जहाँ २ लाख ५० हजार परीक्षार्थी सामेल हुँदै थिए । अब रोकिएको परीक्षा स्थिति सामान्य भएपछि गर्ने र स्थगित परीक्षा आवेदन पुनः खुलाइने छ । यस्तै कक्षोन्नति गरि तल्लो कक्षाको परीक्षा उपयुक्त समयमा लिइने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ ।
सामान्य अवस्थामा विद्यार्थीदेखि प्राध्यापकसम्मको विभिन्न आन्दोलन र माग सम्बोधन गर्नमा नै व्यस्त त्रिविले शैक्षिक गुणस्तर कायम राख्न नसकेको आरोप लाग्दै आएको छ । सेमेस्टर प्रणालीमा छुटेको कक्षा नदोहोर्याउने भन्दै भर्चुअल माध्यममा पढाइ गरेको विश्वविद्यालयले वार्षिक प्रणालीका विद्यार्थीलाई वैकल्पिक कक्षामा सामेल गराउन सकेको छैन ।
३ देखि ४ लाख नियमित विद्यार्थी रहेको विश्वविद्यालयमा र आंशिक परीक्षार्थी गरेर साढे छ लाख विद्यार्थी छन् । अबको कक्षालाई भर्चुअल माध्यमबाट निरन्तरता दिने त्रिविका शिक्षाध्यक्ष प्रा.शिवलाल भुसालको भनाइ छ । भर्चुअल कक्षामा रुपान्तरणका लागि केन्द्रबाट निर्देशन दिइसकेको र त्यसको नियमित अनुगमन गरिरहेको उहाँको भनाइ छ ।
विद्यालय तहमा भर्चुअल कक्षाबाट पढाइ भइरहँदा विश्वविद्यालयको वार्षिक प्रणलीमा विद्यार्थीको उपस्थिति भएन भनि पढाइ रोक्ने पक्षामा विश्वविद्यालय छैन । गत वर्ष नै कक्षा प्रभावित हुँदा निकास दिन नसकेर एकै कक्षामा दुई शैक्षिक सत्रका विद्यार्थी पढाइरहेको विश्वविद्यालयलाई भद्रगोल क्यालेण्डर व्यवथित गर्न सजिलो छैन ।
प्रतिक्रिया दिनुहोस्