
काठमाडौं । माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठले कोरोनाको महामारी भयावह भएको र नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लागेको उहाँले आरोप लगाउनु भयो ।
सरकारबाट यस्तो संवेदनशील अवस्थामा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पिडादायी स्थिति रहेको बताउँदै श्रेष्ठले सबै मिलेर आम नागरिकको जीवन रक्षामा लाग्न आग्रह गनुभयो ।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेकोले गरीब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन, भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुगेकोमा दुख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, `अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ। तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ । सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाऔं ।
`
विषम परिस्थितिमा राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरुलाई आफुलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार रहन उहाँले सुझाव दिनुभयो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको अवस्था डरलाग्दो छ । अक्सिजन, भेन्टिलेटर र आइसीयु अभावमा संक्रमितहरु भटाभट जीवन गुमाउन बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्