
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने स्पष्ट पार्नुभएको छ ।
सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले भोलिका लागि बोलाएको संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने जानकारी दिनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आफू बैठकमा सहभागी नहुने सभापति देउवाले बताउनुभएको हो ।
अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरेर लोकतान्त्रिक अभ्यासमा सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गर्नुभएको छ ।
सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको देउवाले आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । पुसमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक ल्याएर परिषदलाई आफू अनुकुल बनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्