१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैशाख २७ नजिकिँदा बाक्लियाे राजनीतिक दाैडधुप


0
Shares

pm oli addresse to prawasi nepali

अक्कल कुँवर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै राजनीतिक दलहरुको दौडधुप तीव्र भएको छ । प्रधानमन्त्री ओली वैशाख २७ गते आह्वान गरिएको प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रयासमा लाग्नुभएको छ भने विपक्षी दलहरू जसरी पनि प्रधानमन्त्री ओलीलाई अल्पमतमा पार्ने प्रयासमा लागेका छन् ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट मंगलबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट अर्थात वैशाख २२ गते बुधबार प्रधानमन्त्री ओली आफू निकट नेताहरूलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभयो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले कांग्रेससँग विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव गर्नुभएको थियो । तर, कांग्रेसले सरकारलाई विश्वास गर्ने वातावरण नभएको भन्दै मत दिन नसकिने जवाफ दियो । सरकारलाई तत्कालका लागि समर्थन गर्न नसक्ने भए पनि सच्चिएको खण्डमा कुनै समय साथ दिनसक्ने कांग्रेसको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको झलनाथ खनाल र माधव नेपाल समूह तथा जसपाको भट्टराई–यादव पक्षबीच पटक–पटक छलफल भइसकेको छ । बिहीबार साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता भयो ।

त्यस्तै, शुक्रबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच बुढानिलकण्ठमै भेटवार्ता भयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट साथ नपाउने भएपछि प्रधानमन्त्री ओली आफ्नो दल एमालेलाई एकजुट बनाउने र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफूतिर तान्ने प्रयासमा लाग्नुभएको छ ।

नेकपा एमालेको आन्तरिक विवादलाई समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रयास गरिरहनुभएको छ । यसबीचमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पटक–पटक भेटवार्ता भइसकेको छ भने एमालेभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप बिहीबार साँझ एमाले नेता नेपाललाई शितल निवास बोलाउनुभयो । नेता नेपाल फर्किए लगत्तै प्रधानमन्त्री ओली पनि बिहीबार साँझ नै शितल निवास पुग्नुभयो ।

त्यसो त पार्टीभित्रको आन्तरिक विवाद मिलाउन एमालेका दोस्रो तहका नेताहरू पटक–पटक छलफल गरे पनि सकारात्मक हुन सकेको छैन । यसबीचमा जनता समाजवादी पार्टी जसपालाई आफ्नो कित्तामा ल्याउन प्रयास स्वरूप प्रधानमन्त्री ओली र विपक्षी नेताहरूले छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिँदै जाँदा दलहरूको दौडधुप झन् तीव्र बन्दै गएको छ । दलका नेताहरूको दौडधुप प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने दिनसम्म जारी रहने देखिन्छ ।