
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउयवाले प्रधानमन्त्रीका विषयमा प्रश्नै–प्रश्न उठाउनुभएको छ । जनता अक्सिन नपाएर मरिरहँदा टुलु टुलु हेर्ने प्रधानमन्त्रीले सदनमा उभिएर आत्मप्रशंसा गर्नु विडम्बना भएको देउवाको भनाइ छ ।
उनले धेरै पुस्ताको बलिदानी र सहिदका रगत तथा संघर्षमा होमिएकाहरूको पसिनाको विरुवास्वरुप लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था आएको भन्दै अहिलेको नेतृत्वबाट यी सबै कुरा असुरक्षित बनेको बताउनुभयो ।
‘हाम्रा राजनीतिक मूल्य मान्यता र नैतिक चारित्रिक धरातलमा उभिएको छ, के देश र नेपाली जनताको हितमा केन्द्रीत छ ?,’ प्रश्न उठाउँदै देउवाले भन्नुभयो, ‘के अहिले नेतृत्व लिएकाहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित छ ?’
उहाँले संविधान निर्माण भएपछिको पहिलो संसदीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट यो सरकार गठन भएको स्मरण गरे । ‘आज यो प्रतिनिधिसभामा विश्वासको मत माग्न आउनुपरेको छ, यो परिस्थितिका लागि को जिम्मेवार छ ?’
देउवाले संविधानले सम्पूर्ण कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएको भन्दै देश र जनताको हितमा काम गर्न कसले रोकेको छ भन्दै प्रश्न उठाउनुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि दोष र गुनासो थुपारेर जिम्मेवादरीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’
प्रधानमन्त्रीलाई प्रश्न माथि प्रश्न सोधेका देउवाले यस अवधिमा प्रधानमन्त्री पूर्णरूपमा असफल भएको जिकिर गर्नुभयो । ‘एकपटक छातिमा हात राखेर सोच्नुस् प्रधानमन्त्रीज्यू ! यो अवस्था तपाईंको दम्भबाट आएन ?’
‘कोभिड–१९ को महामारीमा घरमा, अस्पतालमा अक्सिजन र उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । महामारीको एक वर्ष बढी हुँदा सरकारले नियन्त्रण रोकथामको कुनै व्यवस्था गरेको छैन । पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर र जिम्मेवारी हुन सकेन,’ देउवाले भन्नुभयो, ‘कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन, जुन कुरा अघि नै गर्नुपथ्यो । अहिले गम्भीर संकटमा देश पुगेको छ । यो अवस्थाका लागि सरकार जिम्मेवार छ कि छैन ?’
देउवाले मानिसहरु कोरोना महामारीबाट मृत्यु भइरहेका बेला प्रधानमन्त्री ठूलो समूह लिएर धरहरा उदघाटन गर्न गएको स्मरण गर्दै भन्नुभयो, ‘यो गैर जिम्मेवारी हो की होइन ?’
व्यापारी घराना पोस्न नेपाली जनताको ज्यान धरापमा राखेको देउवाको आरोप छ । ‘तपाईंले व्यापारिक घरानालाई पोस्न नेपाली जनताको ज्यान धरापमा पारेको तथ्य तपाईंले छुपाएर छुप्ने अवस्था छ ?,’ प्रश्न थप्दै देउवाले भन्नुभयो, ‘आफ्ना जनताका लागि अक्सिजनको व्यवस्थासमेत गर्न नसक्ने, जनताको ज्यानजाँदा टुलु ट्लु हेर्ने प्रधानमन्त्रीले आत्मप्रसंसा गर्नु विडम्बना बाहेक के हुन सक्दछ ?’
देउवाले उपसभाुमख पद खाली राख्नुपर्ने अवस्था कसका कारण आएको भन्दै प्रश्न गर्नुभयो । ‘संविधान अनुसार प्रतिनिधिसभाको सपथ लिएपछि प्रधानमन्त्री बन्ने व्यवस्था उल्लंघन गर्नुभएको होइन ?,’ देउवाले भन्नुभयो, ‘सभामुख र उपसभामुख फरक पार्टीको हुने व्यवस्था तपाईं लत्याउनुभएको होइन ? उपसभामुख पद खाली राख्नुपर्ने अवस्था कसका कारण आएको छ ?’
प्रतिक्रिया दिनुहोस्