१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा रोजगारी गुमेका नेपालीहरू धमाधम घर फर्कँदै, १० प्रतिशतमा कोभिड पोजेटिभ


0
Shares

विराज रोस्यारा
कैलाली । कोरोनाकै कारण रोजगारीका लागि भारत पसेका नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दो छ ।

गत वर्ष पहिलो चरणको कोरोना कहरका कारण रोजगारी गुमाउँदै भारतबाट स्वदेश फर्केका नेपालीहरू फेरि लकडाउन खुलेसँगै भारत पसेका थिए । तर, भारत पसेको केही महिनामा दोश्रो चरणको कोरोना लहर आएपछि उनीहरूले स्वदेशकै बाटो रोज्नुपरेको छ ।

दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गएपछि भारतका विभिन्न शहरमा लकडाउन जारी गरिएको छ । यही लकडाउनले रोजगारी गुमेपछि फेरि नेपालीहरू स्वदेश फर्किरहेका हुन् । कैलालीको त्रिनगर नाका हुँदै अहिले धमाधम नेपालीहरू स्वदेश फर्किरहेको देखिन्छ ।

भारतसँगै नेपालमा पनि कोरोना संक्रमण दर घट्दै गएपछि केही महिना अघि मात्रै नेपालीहरू धमाधम भारत पसेका थिए । नेपाल सरकारले भारतबाट आएका नेपाली नागरिकहरूलाई स्वदेशमै रोजगारी दिने उद्घोष गरे पनि त्यसको कार्यान्वयन नहुँदा उनीहरू बाध्यताबस भारत पसेका थिए । भारतमा पुनः लकडाउन भएपछि रोगसँगै भोकको त्रासले उनीहरू स्वदेश फर्किएका छन् ।

१ महिनाको अवधिमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन् । हाल दैनिक स्वदेश आउनेहरूको संख्या बढिरहेको छ । भारतबाट नेपाल आउनेहरूमध्ये समूह अनुसार एन्टीजेन परीक्षण गर्ने गरिएको छ ।

एक समूको एकजनालाई परीक्षण गरिने र सम्पर्कमा आएका अर्थात समस्या देखिएकालाई परीक्षण गर्ने गरिएको हो । भारतबाट आउनेहरूमध्ये एन्टिजेन परीक्षण गर्दा १० प्रतिशतमा पोजेटिभ देखिएको पुनर्वास नगरपालिा हेल्त डेस्क इन्चार्ज गणेश साउँद बताउनुहुन्छ ।

भारतबाट स्वदेश आउने क्रम दिनानुदिन बढिरहेको छ । यहाँ आएर उनीहरू सिधै घर जाने गरेका छन् । नेपालमा पनि स्थिति नियन्त्रण बाहिर गइसकेको छ । यस कारण भारतबाट आउनेहरूलाई पनि क्वारेन्टाइनमा व्यवस्थापन गर्न सके केही न्यूनिकरण हुन्थ्यो कि ?