१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोलुखुम्बुस्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताउनु भयो ।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु शंकास्पद लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । हिजो एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।

सोलुखुम्बु ठेगाना भएका उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएको पाइएको छ । यससँगै आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोनाको कुनै पनि प्रभाव परेको छैन । शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही र उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उहाँको भनाइ छ।