१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घुरानमा पुगेको ओलीको राजनीतिक बैधानिकता ?


0
Shares

सञ्जिव कार्की

इतिहास दोहोरिन्छ दुर्भाग्य नकारात्मक इतिहास चै बारम्बार दोहोरिन्छ । अहिले त्यस्तै इतिहास दोहोरिएको छ । २००७ सालको परिवर्तन पछि आज सम्म कुनै पनि सरकारले पूर्ण कार्यकाल पूरा गर्न नसकेको दुखान्त इतिहास दोहोरिएर नेपाली जनताको सुदृढ र थिर सरकार देख्ने चाहनाको पुनः बन्ध्याकरण भयो । इतिहासकै सबैभन्दा शक्तिशाली सरकार र पार्टी बनेर, भएर पनि नेकपाले आफ्नो सामर्थ्यलाई सदुपयोग गर्न चुक्यो । नित्य चुकिरहेछ । नेकपा प्रमुख हुनुको अर्थमा दोषको नायकत्व ओलीले लिए पनि नालायकीको पदवी र भार झलनाथ माधव र प्रचण्ड समेतको भागमा नपर्ने भनियो भने सत्यमाथि अन्याय हुनजान्छ । सत्य माथि पर्दा लगाउदै एक अर्कालाई लान्छना लगाउदै कम्युनिस्ट भास्यको शव्द गद्दार प्रयोग गरे पनि दुवै पक्ष उम्कने र भाग्ने अवस्थामा रहेको पाइन्न । स्वतन्त्र विश्लेषण र यथार्थको चित्र देख्दा एउटा पक्षको मात्रै खोट देखिन सक्दैन । सत्ताको प्राप्ति र सत्ताबाट बहिर्गमन एउटा प्रक्रिया हो तर दुखान्त अवसान राजनीतिक मर्यादाको हिसाबमा अमर्यादित र अशोभनीय हो ।

प्राबिधिक विजय र पराजय राजनीतिक जीवनका अभिन्न पक्ष हो । तर सैद्धान्तिक र नैतिक अवसान राजनीति नै धमिलो र खोटपूर्ण बनाउने तत्व हो । स्थायी र प्रचण्ड बहुमतको  सरकार गिराएर र गिर्ने व्यबहार प्रदर्शन गरेर राजनीतिप्रति अनास्था र अविश्वास फेरि एकपटक नराम्रोसँग प्रकट भएको छ । यो अवस्था भनेको राजनीति अरु दुर्गन्धित र फोहोरी बन्ने अवस्था हो । मुख्यतः राजनीतिमा आज के परिणाम आयो त्यसको भन्दा कसरी यस्तो परिणाम आयो त्यसको समीक्षा गर्नु जरुरी छ । विष रोपेर अमृतको अपेक्षा किमार्थ ठिक होइन । खराब पात्र र प्रवृति रोजेर असल शासकको अपेक्षा आफैमा मुर्खता पूर्ण कार्य हो ।

खराब प्रवृति कि पात्र ? पात्र अदल बदल भै रहदा पनि किन प्रवृतिको पुनरावृत्ति हुन्छ ? जहिल्यै असल पात्रको खोजी गरिन्छ तर पात्रको प्रवृति उस्तै र झन निकृस्ट हुँदै जान्छ । राजनीतिको ल्याबमा अनेकौं परिक्षण पुन परिक्षण भए र हुँदै आएको छ तर पनि किन पात्रहरू सत्पात्र बन्न रुचाउदैनन या सक्दैनन् ? व्यवस्था आफैमा खराब हुन्न तर पनि हामी व्यवस्था खराब भयो भन्दै थुप्रैपटक टेस्ट गर्दै नयाँ नयाँ अनुभव संगाल्दै छौं । यद्यपि चित्तबुझ्दो र आसालाग्दो पक्ष भेट्न् मुस्किल भएको छ । तसर्थ कस्ता पात्र र प्रवृति खोज्ने कसलाई खोज्ने ? पुराना पार्टी तिनका नेताकार्यकर्ता फेरेर नयाँ पार्टी र परिक्षण नभएका पात्र खोज्ने कि ? मर्नु आखिर मर्नु नै छ गोली ठोके पनि झुन्डयाए पनि मृत्युबोधको फरक तरिका हुँदैन भबे झै जो भए पनि पुरानै पात्र र प्रवृतिको आलोपालो रोज्ने । आजको विषम परिस्थितिमा उब्जिएको महत्त्वपूर्ण र गम्भीर सबाल हो यो ।

पार्टीहरु एक पछि अर्को गम्भीर र भयानक गल्ती गर्दै जाने र सामान्य क्षमा याचनापछि माफी दिने र भुल्ने आम मान्छेको मनोविज्ञान पनि नेताहरू पार्टीहरुको त्रुटीको अर्को कारण हो । प्रणालीमा रहने प्राबिधिक कमजोरी र सो कमजोरीलाई हतियार बनाएर खेल्ने परिपाटी र क्षुद्र्ता पनि समस्या भित्रको समस्या हो । समग्रमा उत्तरदायित्व बोध गर्ने राष्ट्रिय चरित्र र स्वभावको खडेरि पनि गल्तिको चाङ बढनुका कारणहरु हुन् । राजनीतिमा सत्ता सन्चालनको व्यवस्थापकीय कौशल अत्यन्तै अब्बल हुनुपर्छ अन्यथा दुर्घटनाहरु भै रहन्छन् । अत्यन्तै सुनौलो र विरलै पाइने सत्ता सन्चालनको अवसरबाट ओली र नेकपा नराम्रोसँग चुक्यो । जुन कुरा नेकपा पार्टीको लागि मात्रै होइन देशको लागि अपसोचको विषय बन्यो ।

संसद पुनर्स्थापनाको अदालती फैसलाले नै ओलीको नैतिक धरातल मासिएको थियो भने हिजो अल्पमतमा परेपछि बैधानिक धरातल पनि रक्षानमा पुग्यो ।  वर्तमान किन यति धेरै अभिशप्त बन्दै छ ? नियति हो कि  पात्रको नियतको खराबी ? असफलताको थुप्रो बनाएर राख्ने कि लेसन लिने ?  शासकीय क्षमताको अभाव भएका नेता नै सबै पार्टीले मानिरहनु पर्ने कुनै कारण पनि छैन । विगतमा गरेको त्याग संघर्ष र दुखको सबै भरण पोषण भै सकेर ब्याजको स्याज स्याजको पनि ब्याज नेताले राज्यबाट विभिन्न समयमा क्षतिपूर्ति स्वरुप असुल उपर गरि सकेका छन । अब पनि इतिहासमा त्याग गरेका नेता भनेर तिनलाई संरचनागत लाभ दिने अवस्था बदल्न बिलम्ब गर्न हुदैन ।

इतिहासमा छुटेका र सम्मान नपाएका पात्रको सम्मान गर्नु पर्छ तर तिनको क्षमता र ल्याकत अनुसारको जिम्मेवारीको भारी बोकाउनु उचित हुन्छ । क्षमता भन्दा परको भारी बोकाएर बोकाउनेले समेत अन्याय गर्नु हुन्न । संवैधानिक छिद्र्मा, प्राबिधिक कुरामा अल्झेर नैतिकता र इमानको मार्ग अबरुद्ध गर्ने र समयमा निर्णय लिन नसक्ने र परिस्थितिजन्य कारण देखाएर महत्त्वपूर्ण निर्णय गर्दा भाग्ने पन्छिने र अनुपस्थित रहने कार्य अपराध हो । संसदीय व्यवस्थामा राजनीतिक प्रक्रियालाई यश नो मा राख्नु पर्छ नकि तटस्थता निर्णय प्रक्रिया भन्दा बाहिर जानू अमर्यादा र अशिस्टता हो जुन हिजो माधब झलनाथ खेमाका २८ जना माननीयले गरे । राजनीति संधै तरबारको धारमा हुन्छ । पल ओअलको होसियारी र सावधानी राजनीतिमा ख्याल गर्नुपर्ने कुरा हो । राजनीतिमा जोखिम उठाउन नसक्ने र परेको खण्डमा वार पार गर्न नसक्नेलाई सुहाउने भनेको आत्मसमर्पण नै हो । रोडम्याप बिनाको बिद्रोह असन्तोष केवल अवसरवादिता मात्रै हो ।

मार्क्सवादीहरु किन रामबादी र जनैवादी मात्रै भए ? मार्क्सवादीको ध्यान राम मन्दिर मात्रै हो कि अस्पताल र शिक्षालाय ? कृषिप्रधान अर्थतन्त्र र रेमिटेन्समा चल्ने अर्थ व्यवस्था भएको देसको प्राथमिकता कृषि किन हुन सकेन र वैदेशिक रोजगारी कमी गरि स्वदेशमा रोजगार निर्माणको नीति किन प्राथमिकतामा पर्न सकेन खै जबाफ ? घमण्ड, अभिमान र सनकले फुल्ने हो, फैलने होइन । दुई तिहाई बहुमतवाला शक्ति आफ्ना र आफ्नाहरुको कारण आज १७६ को संसदीय गणितबाट ९३मा झरेर अल्पमतमा पर्यो । सबैलाई चेतना भया ।  शक्तिको घोडा चढनेले आफ्नो धरातल बिर्सनु हुँदैन सत्ता कसैको दाइजो, पेवा, बकस, बपौती र बिर्ता हुन सक्दैन । तर चुनाव जितेको बेला अब ४०/५० वर्ष अकन्टट राज्य गर्ने र अरुलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरुको राजनीतिक अवसान भएको छ । अन्ध विश्वास नै सहि पाप भरिएको घडा जरुर फुटछ ढिलो चाँडो मात्रै हो पाप धुरीबाट कराउँछ अहिले भएको पनि त्यही हो ।

यहाँ केपी ओलीको मात्रै होइन अन्य नेकपा नेताकार्यकर्ताको पनि राजनीतिक अवसान भएको छ । चुनाव हार्नु र राजनीतिक अवसान हुनु एकै होइन यद्यपि राजनीति हरेक सम्भावना ती सकारात्मक हुन या नकारात्मक तिनको जननी हो । दम्भ अहंकार र लुछाचुडको राजनीतिक अवसान कसरी हुन्छ त्यो नेपाली राजनीतिको आजको ज्वलन्त तस्वीर भएको छ । सफलहुनु र सफलता कायम राख्नुको भिन्नताबाट राजनीति केलाउनु पर्ने देखिन्छ ।
अवसरहरुको एकलौटी भोकाधिकार र हाँडिघोप्टे प्रवृति पराजित गरेर साझेदारी र समझदारी बिना अब अरु सरकार र पार्टीको भविस्य र नियति पनि यो भन्दा अलग हुन सक्दैन । समझदारी , साझेदारी, संयम निष्ठा र समर्पण नै अबको राजनीतिको मूल बाटो हुनुपर्छ चाहे जो सत्तामा रहोस् , बसोस् ।