१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस–जसपा बैठक : गठबन्धनकाे नेतृत्व आफूले गर्ने ठाकुर पक्षकाे बटमलाइन


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षबीच भेटवार्तामा ठाकुर पक्षले सरकारको नेतृत्व गर्न चाहेको खुलस्त पारेको छ ।

भेटमा जसपाका नेताहरूले आफूले गठबन्धनको नेतृत्व गर्न चाहेको कुरालाई स्पस्टसँग राखेको स्रोतले जनाएको छ । भेटका लागि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ गएका थिए ।

बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।

जसपाको प्रस्तावपछि नेपाली कांग्रेसले चार बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । बैठकमा सत्ता समीकरण र जसपाले राखेको प्रस्तावको विषयमा छलफल हुनेछ । कांग्रेसलाई आफ्नो प्रस्ताव राखेको जनता समाजवादी पार्टीको ठाकुर पक्षले पनि आफ्ना सांसदहरूको बैठक बोलाएको छ ।

यसअघि कांग्रेस र जसपाको सत्ता समीकरण मिलाउनका लागि दुई पक्षका नेताहरूबीच छलफल भएको थियो । कांग्रेसबाट एनपी साउद, बालकृष्ण खाँड, सुजाता कोइराला र जसपाबाट डा. सुरेन्द्र झा र राजेन्द्र महतो लगायतका नेताहरू सक्रिय भएर सत्ता समीकरणका लागि छलफलमा थिए ।