
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न सोध्नुभएको छ ।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै मिश्रले मृगौला प्रत्यारोपण गर्ने समयमा मृगौला नपाउनुभएको भए कस्तो हुन्थ्यो भन्दै प्रश्न गर्नुभएको छ । देशभर अक्सिजनको अभावका कारण मानिसको मृत्यु हुन थालेको अवस्थामा मिश्रले प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गर्नुभएको हो ।
‘यदि तपाईंको मृगौला प्रत्यारोपण गर्ने समयमा मृगौला नपाउनुभएको भए तपाईं र तपाईंको परिवारलाई कस्तो महसुस हुन्थ्यो ?,’ उहाँले भन्नुभयो, ‘हो त्यसैगरी आज सैयौं नेपालीहरू जीवन र मृत्युको दोसाँधमा अक्सिजन नपाएर छटपटाइरहेका छन् र धेरैको मृत्यु पनि भइसकेको छ ।’
देशभर अक्सिजन अभावको हुनुको मुख्य कारक सरकार भएको आरोप लगाउँदै निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट लगाउन निर्देशन दिनु हास्यास्पद र मुर्खता भएको टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले गर्न नसक्ने काम निजी अपतालले कसरी गर्नसक्छ भन्दै प्रश्न गर्नुभएको छ ।
यस्तै मिश्रले तुरुन्त मित्रराष्ट्रहरू सम्वाद गरेर अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग माग्न सुझाव दिनुभएको छ । देशभर शय्याको अभाव भएको अवस्थामा सेना र प्रहरीको सहयोग लिएर देशभर शय्या र जनशक्तिको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।
मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्