
डम्मर बुढा मगर
बागलुङ । विवाहमा सहभागी भएको २१ दिनमा एकै परिवारका चार जनाको कोभिडबाट मृत्यु भएको छ । वैशाख ११ गतेको विवाहमा सहभागी भएका बडिगाड गाउँपालिका–४ जलजलाका एकै परिवारका चार जनाको कोभिड संक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन् । वैशाख १७ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि धौलागिरी अस्पताल पुर्याएका वृद्धको २१ गते ज्यान गएको थियो ।
४० वर्षीय छोराको वैशाख ३० गते बेलुका धौलागिरी अस्पतालमा र ५१ वर्षीय छोराको ३१ गते पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको हो । शनिबार दिउँसो धौलागिरी अस्पतालका वृद्धकी ५३ वर्षीया छोरीको पनि कोभिड संक्रमणकै कारण मृत्यु भयो ।
वैशाख ११ गते विवाहको भोज खाएकाहरूमा सात दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि थप परीक्षण भएको छैन । विवाहमै सहभागी अन्य दुई जनाको पनि मृत्यु भइसकेको छ भने अन्य अस्पतालमा जटिल अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस्