
काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ ।
३४ वर्षिय कार्कीको वर्षको उपचारका क्रममा शनिबार साँझ ८ः०० बजे निधन भएको हो ।
गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी समेत वहन गरिसक्नु भएका कार्कीकाे निधनप्रति प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले श्रद्धाञ्जलि व्यक्त गर्नु भएकाे छ ।
त्यसैगरि, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नु भएको छ ।
कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्