
इलाम । विकासका योजना अलपत्र छोड्ने ठेकदारलाई कानुनी कारबाही गर्न थालेपछि अलपत्र अवस्थामा रहेका इलामका पुलहरूको निर्माण सुरु भएका छन् । कारबाही प्रक्रिया अघि बढाएसँगै ५ वर्षदेखि निर्माण ठप्प भइ अलपत्र अवस्थामा रहेका इलामका विभिन्न क्षेत्रमा रहेका पुलहरू अहिले धमाधम निर्माण भइरहेका छन् ।
सदरमुकामबाट उत्तरी इलामका गाउँ जोड्ने सडकमा पर्ने राते र गिताङ्ग खोलाका पुलहरू अलपत्र अवस्था थिए । सदरमुकाम सन्दकपुर हुँदै पाँचथरको च्याङ्थापु जोड्ने सीमा सडकमा पर्ने खोलामा पुल निर्माण सकिएपछि प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुग्न सहज हुने सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो ।
ठेकदारलाई नियमित पत्राचार गरेपछि अलपत्र परेका विकासका योजनाहरुको काम सुचारु भएको सडक डिभिजन इलामका प्रमुख अभिमन मुल्मिले बताउनुभयो । राते खोलाको पुल निर्माणका लागि आर्थिक वर्ष ०७२/०७३ मा सिवाको बस्नेत निर्माण कम्पनीसँगै सम्झौता भएको थियो ।
त्यस्तै गिताङ्ग खोलाको पुल निर्माणका लागि नागाजुङ्ग कम्पनीले आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ५७ लाखमा सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्