१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिड नियन्त्रणमा स्थानीय तहकाे सक्रियता अपरिहार्य, वडाध्यक्षको नेतृत्वमा टीम बनाइ घर–घर जान भट्टराईको आग्रह


0
Shares

ताप्लेजुङ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

सोमबार कोभिड रोकथाम तथा व्यवस्थापन सम्बन्धी जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले संक्रमणको रोकथामका लागि स्थानीय स्तरबाट हुन सक्ने सबै किसिमका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

संक्रमणको दर बढ्दो अवस्थामा रहेकाले आइसोलेसन निर्माण गर्नेदेखि बच्ने उपायका सन्दर्भमा घर–घरमा पुगेर जनचेतना फैलाउन आवश्यकता देखिएको उहाँको भनाइ छ ।

प्रत्येक वडाका वडाध्यक्षले स्वास्थ्यकर्मी सहितको टिम तयार गरी घर–घरमा गएर संक्रमणबाट बच्ने उपायको जानकारी गराउन सके नागरिकहरूलाई जोगाउन सकिने बताउनुभयो ।

जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई लिएर समेत काम गर्न भट्टराईले सुझाव दिनुभएको छ ।

उहाँले कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि एकिकृत आइशोलेसन निर्माण, छिटोछरितो रूपमा परीक्षण, स्वास्थ्य क्षेत्रमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन लगायतमा प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।