
सर्लाही । जिल्लाको बाँके जङ्गलमा सवारी साधनमा लुटपाट गरेर फरार भएको गिरोहका दुई जना पक्राउ परेका छन् ।
वैशाख २६ गते राति सवा १ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इश्वरपुर नगरपालिका–४, बाँके जङ्गलमा तीनवटा सवारीमा लुटपाट भएको थियो । घटनामा संलग्न भई फरार रहेका इश्वरपुर नगरपालिका–५, नरेशखोरका ३३ वर्षीय रामकरण महतो र सोही ठाउँका २० वर्षीय सुरेन्द्र सदा पक्राउ परेका हुन् ।
हात हतियार सहित चार जनाको सङ्ख्यामा रहेको नकावधारी डाकाहरूको समूहले प्रहरीले लगाउने जस्तो ज्याकेट लगाएर तीन वटा सवारी रोकी लुटपाट गरेका थिए । नकावधारीले चालक र सहचालसँग भएको ३७ हजार नगद, पाँच थान मोबाइल, सुनको हनुमानी र गाडीभित्र रहेका विभिन्न समबानहरू लुटपाट गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जनकारी दिनुभयो ।
लुटपाटपश्चात डाँका समूहको खोजी तीव्र पारेको प्रहरीले ३३ वर्षीय रामकरण महतोलाई ईश्वरपुर नगरपालिका–५, स्थित फूलजोर मन्दिर नजिकबाट पक्राउ गरेको थियो । उनको साथबाट बीआर ३० यू ७७७३ नम्वरको भारतीय मोटरसाइकल, एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको थियो ।
तत्कालै महतोको घरमा खानतलासी गर्दा लुटपाट भएको एक थान मोबाइल, हनुमानी र प्रहरीले लगाउने ज्याकेट बरामद् गरेको थियो । महतोको बयानकै आधारमा सदालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्