
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा डा. खिमलाल देवकोटालाई मत हाल्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ । एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ प्रतिगमनको मतियार भएको माओवादी केन्द्रको आरोप छ ।
सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गरी देवकोटालाई जिताउन आह्वान गरेका हुन् ।
बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट डा. देवकोटा उम्मेदवार हुनुहुन्छ ।
संघीयतका विज्ञ रहेका देवकोटाले गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढिकरणमा सहयोग पु¥याउने भएकाले विजयी गराउनुपर्ने माओवादी केन्द्रको तर्क छ ।
विज्ञप्तिमा एमालेका उम्मेदवार बादललाई संघीयता र संविधान विरोधी गतिविधिमा लागेको आरोप लगाइएको छ । बागमती प्रदेशबाट राष्ट्रियसभाका लागि ६ जेठमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्