१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिड संक्रमितको शव म्याग्दीमा निःशुल्क दाहसंस्कार


0
Shares

म्याग्दी । कोभिड–१९ सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा म्याग्दीमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ ।

रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् ।

मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क दाहसंस्कार गर्दै आएका छन् ।

अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुईजना सङ्क्रमितसहित पोखरामा मृत्यु भएर बेनीमा ल्याइएका समेत गरी पाँच वटाको शव बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताउनुभयो ।

‘पीपीई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिइ सहयोग गरेका हौं, डोजरले खाडल खन्नुपरेको खण्डमा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिनुभएको छ’, केसीले भन्नुभयो ।

केसीलाई जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन संयोजक तोकेको थियो ।