
नारायणी लामिछाने
काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरूको भूमिका बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरूमा पनि विषेशतः नर्सहरूका पीडा अथाह छन् । फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीसमेत धमाधम संक्रमित हुनुका साथै ज्यान समेत गुमाउन पुगेका कारण अवस्था थप जटिल बन्दै गएको छ ।
नेपालगञ्जमा यतिखेर २६–२९ डिग्री सेल्सियस तापक्रम छ । यस्तो गर्मीमा पीपीईभित्र गुम्सँदै सेवामा खटिनु स्वास्थ्यकर्मीहरूको दैनिकी बनेको छ । अस्पतालभित्र दौडधुप र बिरामीको चापाचापकाबीच स्वस्च्छ हावा समेत सुखले लिन पाइँदैन ।
ज्यान पसिनाले निथु्रक्क भिजेको हुन्छ । जिम्मेवारी र बाध्यतालाई उनीहरूले राम्ररी बुझेका छन् । तर, बालुवाटार र सिंहदरबारबाट आदेश दिनेहरूले भनेको जोखिम भत्ता घोषणामा मात्रै सीमित भएको छ । आफैँ संक्रमित भएकी भेरी अस्पतालकी नर्स दुर्गा लक्ष्मी क्षेष्ठको पूरै परिवार संक्रमित भयो । केही दिनपछि निको भएर उहाँ काममा फर्कनु भएको छ ।
चारैतिरको बिरामीको चाप र कोलाहलले मनको त्रास अझै बलियो बन्दै जान्छ । भोक, प्यास र थकाइले ज्यान थकित भएको हुन्छ । काम सकियला भन्दा झनै थपिँदै जान्छ । खाना, पानी र निद्रा समेत नभनी बिरामीको स्वास्थ्य सुधारका लागि खटिइरहेका नर्सहरूले महिनावारी हुँदासमेत निरन्तर खटाइमै हुन्छन् । त्यसमाथि अक्सिजन अभावले विरामी छटपटाउँदै गरेको देख्दा मन भारी भएर आउने वीरगञ्जको नारायणी अस्पतालकी नर्स हेमा थापा बताउनुहुन्छ ।
सरकारी अड्डाको आडैमा रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि आफ्नै पीडा छन् । कर्मचारी पर्याप्त छैनन् । बिरामी बढ्दै छन् । कर्मचारी अनुसार बिरामी हेर्ने भागबण्डा मिलाइएको छ । सोही अनुसार तीनजना नर्सले ३० जना बिरामी हेर्छन् ।
निको भएर फर्किएकाहरू देख्दा भने खुसी मान्छन् उनीहरू । तर, मृत्युबरण गर्नेहरुको लहरले मन आत्तिन थाल्छ । अस्पतालमा एक बिरामी एक बेडबाट डिस्चार्ज हुँदा अन्य ५ जना बिरामी राख्नका लागि बेड तयार गर्नुपर्ने अवस्था रहेको वीर अस्पतालकी नर्स सुजिना श्रेष्ठको भनाइ छ ।
यता नारायणी अस्पतालमै कार्यरत मनिषा पाण्डे अस्पताल गएदेखि जतिखेर पनि बिरामीलाई केही नभईदिओस् मात्रै भनेर सम्झिरहन्छिन् ।
कोरोना भाइरसका संक्रमण बढ्दै गएको अवस्थामा सिरहाका डाक्टर मुकेस चौधरी र नेत्र रोग विशेषज्ञ प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भइसकेको छ । उनीहरूको मृत्यु पश्चात स्वास्थ्यकर्मीहरूमा त्रासको वातावरण सिर्जना भएको छ । यद्यपि यस्तो अवस्थामा नर्सलाई प्रोत्साहन भत्ता र जोखिम भत्ता दिई काम प्रति जिम्मेवार बनाउन आवाश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्