
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी संघर्ष मत्थर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष मत्थर हुने आशा व्यक्त गर्नुभएको हो ।
अमेरिकी ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफुले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको बताउनुभयो ।
इजरायलको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन ।
राष्ट्रपति बाइडेनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले भने इजरेली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन ।
लडाइँ सुरु भएको १० औँ दिनमा पनि प्यालेस्टिनी विद्रोहीहरूद्वारा रकेट प्रहार अनि इजरेली सेनाद्वारा हवाई आक्रमणको सिलसिला जारी रहेको छ ।
हमासका एक वरिष्ठ अधिकारीले इजरायलसँग आगामी दुई दिनभित्र युद्धविराम हुने आशा व्यक्त गरेका छन् ।
लमुसा अबु मार्जुकले लेबननको टीभीसँग गरेको टिप्पणीले गोप्य रूपमा भइरहेका कुराकानी सफलताउन्मुख भएको देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्