१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घट्न थाल्यो कोभिडको संक्रमणदर, टेकु अस्पताल बाहिर देखिएनन् बिरामी


26
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । विगत डेढ महिना यता डरलाग्दो रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको बेग केही मत्थर हुन लागेको संकेत देखिएको छ । जेठ लागेपछिका आँकडाहरूले संक्रमण दरमा केही केही कमी आएको देखाएको हो । तर, अहिले नै संक्रमण दर घट्न थालेको भन्न नसकिने चिकित्सकहरू बताउँछन् ।

झन्डै दुई महिना देखि उकालो लागेको कोरोना संक्रमणको दर एक साता यता भने विस्तारै ओरालो लाग्न थालेको देखिएको छ । चैतको पहिलो सातादेखि बिस्तारै बढेको कोभिड संक्रमण वैशाख आखिरीसम्म पुग्दा निकै उच्च रहेको थियो । एक साता यता संक्रमितको संख्या घटेको जस्तो देखिएको छ ।

वैशाख ३१ गते देखि जेठ ७ गतेकोबीचमा ५६ हजार भन्दा धेरै मानिसमा संक्रमण देखिएको छ । एक साता यता १ लाख ४२ हजार व्यक्तिमा भएको परीक्षणमा ४० प्रतिशतमा संक्रमण देखिएको हो । वैशाख ३१ देखि दिनँहु भेटिने संक्रमितको संख्या परीक्षणको तुलनामा ४० प्रतिशत भन्दा कम रहने गरेको छ । वैशाख ३१ अघि यो दर ४५ प्रतिशत माथि थियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप वास्तोलाले १ साता देखि अस्पताल भर्ना हुने संक्रमितको संख्यामा कमी आएको र अस्पतालको शय्या नभएर बाहिरबाट दिनु पर्ने सेवा समेत हटाइएको जानकारी दिनुभयो ।

संक्रमण उच्च रूपमा बढेका जिल्लाहरूमा संक्रमितको संख्या घटेको जस्तो देखिएको भए पनि संक्रमण ढिलो फैलिएका जिल्लाहरूमा संक्रमण कम नभएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउनुहुन्छ । परीक्षणको दायरा फराकिलो भएका जिल्लाहरूमा संक्रमितको संख्यामा कमी आएको देखिए पनि देशभर नै संक्रमण दर घटेको भन्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी आएको छ ।

देशभर १ लाख भन्दा बढी व्यक्ति होम आइसोलेसनमा छन् । संक्रिय संक्रमित मध्ये २ हजार माथि व्यक्तिको मात्र हाल आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पताल आउनेहरूमा पनि निमोनिया भएका र अक्सिजन चाहिने व्यक्ति छन् । हाल सिकिस्त हुनेहरूमा युवाहरूको संख्या बढी रहेका डा. सुवेदीको भनाइ छ ।

वैशाख महिनामा निकै उकालो लागेको संक्रमणको ग्राफ घटिसकेको भने होइन । मुख्य–मुख्य शहरहरूमा संक्रमितको संख्यामा कमी आएको देखिए पनि कोरोना संक्रमण गाँउ–गाँउ पुगिसकेको छ । जसका कारण अब संक्रमण ढिलो फैलिएका र परीक्षण दर कम भएका जिल्लाहरूमा बढ्ने सम्भावना देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।