१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र प्रधानमन्त्रीले परिवर्तनका एजेन्डाहरु समाप्त पारेः पूर्व-उपप्रधानमन्त्री सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध रुपमा संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त पारेको आरोप लगाउनुभएको छ ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरि चुनावको घोषण गरेपश्चात् आफ्नो धारण सार्वजनिक गर्दै नेता सिंहले योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार भएको टिप्पणी गर्नुभएको छ ।

मध्यरातमा चालिएको असंवैधानिक कदमको घोर भत्सना गर्दै नेता सिंहले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उल्लेख गर्नुभयो ।

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुप¥यो,’ नेता सिंहले भन्नुभएको छ,‘एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ ।’

नेपाली जनता कोरोना महामारीमा रहेका बेला र जनताको जीवनरक्षा गर्नु पर्ने बेला चुनाव घोषाण गर्नु देशका लागी दुर्भाग्य भएको नेता सिंहको भनाई छ ।

कोरोना महामारीको सामना गरिरहेका जनता अस्पतालमा शैय्या अभावमा छट्पटाई रहेका बेला जनताको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले निकृष्ट कर्म गरेको नेता सिंहले उल्लेख गर्नुभएको छ ।

‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’ उहाँले उल्लेख गर्नु भएको छ ।

जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू मानवीयताको दृष्टिकोणले समेत गलत भएको नेता सिंहको भनाई छ ।