२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिबाट संविधान र संसदको हुर्मत लिने काम भएको पत्रकार महासंघको ठहर


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र संसदको हुर्मत लिने काम गरेको ठहर गरेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैकल्पिक सरकार बन्ने अवस्था रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको ठहर गरेको हो ।

सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार भएको महासंघको निष्कर्ष छ । उसले अहिलेको आवश्यकता अस्पतालमा अक्सिजन र शय्याको भएको बताउँदै राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्ध रहेको जनाएको छ ।

महासंघले संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई असंवैधानिक कदम भनेको छ ।

महासंघ संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने सम्मानीय राष्ट्रपति संस्थासंग आग्रह गर्नु आफ्नो दायित्व ठान्दछ । र, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गर्दछ ।