१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधियो, भोलि साँझ ५ बजेसम्मको म्याद


0
Shares

श्रीराम अर्जुन
हेटौंडा । राष्ट्रियसभाको उप–निर्वाचनमा एमालेकाका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गराउन भूमिका खेलेको भन्दै नेकपा एमालेले माधव नेपाल समूहका १४ जना सांसदलाई स्पष्टिकरण सोधेको छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नेदेखि राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन विरुद्ध विपक्षी उम्मेदवारलाई मतदान गर्ने प्रदेश सांसदलाई आइतबार साँझ ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । स्पष्टिकरण आएपछि थप कारबाही बारे निर्णय हुने उहाँले बताउनुभयो ।

बैठकले प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुम कुमार कार्की ,मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको निरौलाले जानकारी दिनुभयो ।