
काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने निर्णय गरेका छन् । संघीय संसद भवन बानेश्वरको ल्होत्से हलमा शनिबार बसेको विपक्षी गठबन्धनका दलहरुको बैठकले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरवहादुर देउवालाई समर्थन गरेर राष्ट्रपति समक्ष बुझाएको १ सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको छ । यस्तै, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा विपक्षी गठबन्धनका ५ दलले संसद विघटन गैरसंवैधानिक,आलोकतान्त्रिक र स्वच्छाचारी भएको टिप्पणी गरिएको छ ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटन गर्ने गैरसंवैधानिक र अराजनीतिक कदमविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने प्रतिक्रिया दिनुभयो । बैठकले आफ्नो पार्टीका सांसदहरुलाई तत्काल काठमाडौ बोलाउने निर्णय समेत गरेको छ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको लागि बहुमत नपुगेको भन्दै सरकारको सिफारिसमा हिजो मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । यसअघि, सत्तारुढ एमालेभित्रको झगडाको कारण गत पुस ५ गते पनि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । तर, अदालतले फागुन ११ गते निर्णय बदर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्