१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा कोभिड परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्दा संक्रमणको जोखिम उच्च


0
Shares

विराज रोस्यारा
कैलाली । कोभिड–१९ को पीसीआर परीक्षणको रिपोर्ट आउन एक साता लागेपछि जिल्लामा संक्रमणको जोखिम थप बढ्दै गएको छ ।

कैलालीमा स्वाब सकंलन गरेकाहरूको रिपोर्ट समयमा नआउँदा कोरोनाका लक्षण देखिएका बिरामी पनि सामान्य उपचार गरेर घरै बस्ने गरेका छन् । स्थानीय तहहरूले सङ्कलन गरी पठाएका स्वाब आउन एक साता लाग्ने गरेकाले समस्या भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।

समयमा रिपोर्ट नआउँदासम्म स्वाब दिएका व्यक्तिहरू परिवार तथा छरछिमेकबाट अपहेलित हुने गरेको उहाँको भनाइ छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका स्थानीय तहका साथै सुदूरपश्चिमका अन्य जिल्लाका स्वाबको परीक्षण हुने गरेको छ ।

ल्याब क्षमताभन्दा बढी स्वाब संकलन हुँदा समस्या भएको प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो । केही दिन अघिसम्म एक जनाको रिपार्ट आउन एक हप्ताभन्दा बढी समय लागेको भए पनि अहिले व्यवस्थापन भइरहेको बताउनुभयो ।

स्वाब परीक्षणको रिपोर्ट नआउँदा बिरामीको उपचारमा समेत समस्या हुने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकले कोरोनाको लक्षण देखिएका तर जटिल समस्या नभएकालाई होम आइसोलेसनमा बस्न सुझाव दिने गरेका छन् । अस्पतालमा श्वासप्रश्वासको समस्या भएका र अक्सिजनको मात्रा कम भएका बिरामीलाई मात्र भर्ना लिने गरिएको छ ।