२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चीनले अनुदानमा दिएका लिक्विड अक्सिजन काठमाडौं आइपुग्यो, आवश्यकता अनुसार अस्पताल पठाइने


0
Shares

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपालका लागि अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी हुँदै काठमाडौं आइपुगेको छ ।

शनिबार साँझ तातोपानी भन्सार कार्यालयमा सबै प्रक्रिया पुर्याएर काठमाडौं पठाइएका ३० मेट्रिक टन लिक्विड अक्सिजन आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य विभागका जनस्वास्थय प्रशासक उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

ती अक्सिजन आवश्यकता अनुसार अस्पतालहरुमा पठाइने उहाँले बताउनुभयो ।

ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी हुँदै काठमाडौं पठाएको हो ।

केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।

लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।

लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाउने तयारी गरेको छ ।

लिक्विड अक्सिजन अति संवेदनशील भएकाले दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं पठाइएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

हिजो साँझ नै तातोपानीबाट हिडेका ती अक्सिजन लिक्विड अति संवेदनशील र हेभी भएकाले आज मात्रै काठमाडौं आइपुगेका हुन् ।