
सिन्धुपाल्चोक । नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान मास्क, अक्सिजनसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्मोगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन ३० थान प्रदान गरेको हो ।
शनिबार सिल्कका अध्यक्ष रमेश शेर्पाले पूर्व मन्त्रीद्धय मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
नेताद्धयले सिल्कबाट प्राप्त स्वास्थ्य सामग्री जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुझाएको हो ।
सिल्कका अध्यक्ष शेर्पाले सिन्धुपाल्चोकलाई कोरोनामुक्त बनाउने अभियान अन्तर्गत सो सामग्री सहयोग गरिएको बताउनुभयो ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले यो सामग्रीले धेरै सहयोग पुग्ने बताउनुभएको छ । आवश्यक परेको ठाउँमा यी स्वास्थ्य सामग्री पठाउने उहाँले बताउनुभयो ।
सामग्री बुझदै समितिका सल्ल्हाकार एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सिल्कबाट प्राप्त भएको सामग्रीले सिन्धुवासीलाई राहत पुग्ने बताउनुभएको छ ।
स्वास्थ्य सामग्रीको अभाव हुने संकेत भइरहेको बेला सिन्धुवासीका लागि ठुलो सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्