
धुर्बसागर शर्मा
म्याग्दी । म्याग्दीका स्थानीय तहले कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरु गरेका कारण कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।
सदरमुकाम बेनीका चोकचोक र गल्लीगल्लीका घर हुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाले आफ्नो विभत्स रुप देखाउँदै म्याग्देली जनतालाई त्रसित बनाइरहेको छ ।
वैशाखको दोस्रो सातासम्म पर्ख र हेरको अवस्थामा रहेका यहाँका स्थानीय तह तेस्रो सातादेखि कोरोना संक्रमणको नियन्त्रणका लागि काम शुरु गर्दा धेरै ढिला भैसकेको थियो ।
त्यतिबेलासम्म नयाँ भेरियण्ट सहित्को कोरोनाको दोस्रो लहरले सदरमुकाम बेनीबजारलाई छिचोल्दै ग्रामिण भेकका वस्तीवस्तीमा पाइला राखिसकेको थियो ।
सहरबाट गाउँ फर्कने व्यक्ति,विवाह,धार्मिक कार्य र मृत्युसंस्कार आदिलाई माध्यमबनाएर कोरोना गाउँ वस्तीमा प्रवेश गरीसकेपछि बल्ल यहाँका जनप्रतिनिधि र सरोकारवालाहरु कोरोना नियन्त्रणको प्रयासमा जुटेका थिए ।
अहिले गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्बाब संकलन, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमतिको भेटघाट, औषधी वितरणका साथै सिकिस्त विरामीलाई एम्बुलेन्स मार्फत अस्पतालमा लान थालेका छन् ।
कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा ब्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन्।
म्याग्दीमा कोरोना संक्रमितकोसंख्या १४ सय जना पुगेको छ । ४०९ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ६६३ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्