१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रिटमा हस्ताक्षर गर्न नेपाल पक्षमा दुई सांसद अनुपस्थित : नेता भन्छन्, ‘गोकर्णजी बिरामी, अर्का साथीलाई पखाला चल्यो रे !’


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा दायर हुन लागेको रिटमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २५ जनाले हस्ताक्षर गरेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि जेठ ७ गते २७ जनाले हस्ताक्षर गरेकामा सोमबार रिट निवदेन पेश गर्ने समयसम्म २५ जना सांसदले मात्र हस्ताक्षर गरेको एमालेको माधव पक्षीय नेता झपट रावलले जानकारी दिनुभयो ।

नेपाल पक्षका नेता गोकर्ण विष्ट बिरामी भएको र अर्का एक नेतालाई पखाला लागेको भन्दै अनुपस्थित भएको नेता रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोकर्णजी बिरामी भएकाले आउन सक्नुभएको छैन, अर्को एकजना साथीलाई पखाला लागेको छ रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।

त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन् । कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जनमोर्चाकी एक जनाले पनि देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दिएको दाबी र ओलीले १५३ जना सांसदको दाबी पेश गरे पनि राष्ट्रपतिले दुवैलाई अस्वीकार गरी प्रतिनिधिसभा विघटनको बाटोतर्फ लाग्नुभएको थियो ।