
एजेन्सी । जो बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्छैछन् । दुई नेताबीच १६ जुनमा स्वीट्जरल्याण्डको जेनेभाका भेटवार्ता हुन लागेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।
बाइडेन र पुटिनले कैयौंपटक एकअर्काको व्यक्तिगत टिप्पणी गर्नु तथा अमेरिका र रुसबीचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा एकअर्काबीचको भेटलाई विश्वसमुदायले चासोका साथ हेरेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको एबीसी न्यूजसँगको कुराकानीमा २०२० मा पुटिनले अमेरिकी चुनावमा गरेको धाँधलीको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।
बाइडेनले एक साक्षात्कारमा पुटिनलाई हानिकारक भएको टिप्पणी गर्नुभएको थियो । यसको जवाफ दिँदै रसियन टेलिभिजनसँगको कुराकानीमा पुटिनले आफू बाइडेनसँग लाइभ कार्यक्रममै बहस गर्न तयार रहेको बताउनुभएको थियो ।
यसअघि पनि बाइडेन र पुटिनको भेट हुने अनुमान लगाइएको भए पनि १६ जुनमा भेट हुन लागेको हो । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले भन्नुभएको छ, ‘भेटमा उठेका सबै मुद्दामा कुराकानी हुनेछ र ती मुद्दा के हुन् भन्नेबारे सबैलाई थाहा छ ।’
अमेरिकाले दुई देशबीचको सम्बन्धमा सुधार चाहेको बताउँदै साकीले विश्वव्यापी समस्याको बारेमा दुवै देशले सहयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्