
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । सरकारका लागि आन्तरिक ऋण उठाइरहेको राष्ट्र बैंकले यसैअन्तर्गत वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।
पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याज दर १० प्रतिशत रहेको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । अहिले बैंक तथा वित्तीय संस्थाले दिइरहेकोभन्दा यो ब्याज उच्च रहेको छ ।
राष्ट्र बैंकले अन्य बचतपत्रमा दिइरहेकोभन्दा पनि यो धेरै हो । ब्याज आम्दानी गरेबापत वैदेशिक रोजगारमा हुनेहरुले सरकारलाई कर पनि तिर्नु पर्दैन । नभए ब्याज आम्दानीमा ५ प्रतिशत कर लाग्छ । ब्याजको भुक्तानी प्रत्येक ६ / ६ महिनामा गरिने छ । ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्नेछ ।
मुलुक बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीका परिवारले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
यसैबीच राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी असार मसान्तसम्म निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तरमा छुट प्रदान गर्ने भएको छ । यसअघि २०७८ असार मसान्त रहेको स्प्रेड छुटको व्यवस्थालाई राष्ट्र बैंकले हिजो एक परिपत्रमार्फत् एक वर्ष थप गरेको हो ।
मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर ४ दशमलव ४ प्रतिशत हुनुपर्छ । तर, मर्जरमा जाने संस्थालाई भने २०७९ सम्म त्यो भन्दा बढी स्प्रेडदर कायम गर्ने छुट राष्ट्र बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्