२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


असद फेरि चुनिए सिरियाकाे राष्ट्रपति, थप ७ वर्ष शासन गर्ने


0
Shares

एजेन्सी । मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिएका छन् ।

गत बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५ दशमलव १ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

यो जितसँगै ५५ वर्षीय असदलाई थप सात वर्ष सिरियामा शासन गर्ने बाटो खुलेको छ । उहाँ राष्ट्रपतिमा निर्वाचित भएको यो चौथो पटक हो । अब असद परिवारले झन्डै ६ दशक सिरियामा शासन गर्ने पक्का भएको छ ।

यसअघि उहाँका बुवा हाफेज अल असदले ३० वर्ष सिरियामा शासन गर्नुभएको थियो । सन् २००० मा हाफेजको मृत्यु भएयता छोरा बसर अल असदले आशन गरिरहनुभएको छ ।

बुधबारको चुनावमा कुल मतदाताको ७८ प्रतिशत मत खसेको बताइएको छ । चुनावमा असदका दुई प्रतिष्पर्धी थिए । असदका विपक्षी र अन्तर्राष्ट्रिय समुदायले भने चुनावमा व्यापक धाँधली भएको बताएका छन् ।

चुनावअघि फ्रान्स, जर्मनी, इटाली, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले विज्ञप्ति निकालेर असदको आलोचना गरेका थिए । असद प्रशासनले अहिले सिरियाको झन्डै ७० प्रतिशत भू–भागमा नियन्त्रण राख्छ । बाँकी भुभाग अनेक विद्रोही समुहको नियन्त्रणमा रहेको छ ।