२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


संवैधानिक इजलाशका न्यायाधीश श्रेष्ठमाथि उठ्याे प्रश्न, आइतबारसम्मका लागि सुनुवाई स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वाेच्च अदालतमा शुक्रबार भएकाे बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेको छ । न्यायाधीश श्रेष्ठको विषयमा प्रश्न उठेसँगै सुनुवाई पनि आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयमा फैसला गरेकाले विपक्षी गठबन्धनका तर्फबाट बहस गर्ने अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठको विषयमा प्रश्न उठाउनुभएको हो ।

बन्दीले उठाएको विषयको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायत उभिनुभएको थियो भने महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाउनु भएको थियो । सोही विषयमा विवाद लम्बिएपछि प्रधानन्यायाधीश राणाले सुनुवाई आइतबारसम्मका लागि स्थगित गर्नुभएको हो ।

न्यायधीश श्रेष्ठले कट्टेलले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपा एमाले र नेकपा माओवादीको एकतालाई शून्यमा पुर्याउनुभएको थियो । उक्त फैसला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा भएको चर्चा छ ।

बन्दीको प्रश्नको जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले हरेक पक्षले एकजनाले एकजना न्यायाधीशमाथि प्रश्न उठाउनु अदालतमाथिको अविश्वास भएको तर्क गर्नुभएको छ । उहाँले अदालतप्रति विश्वास गर्न अधिवक्ता बन्दीलाई आग्रह गर्नुभएको छ ।

संसद र पार्टीमा झण्डै दुई तिहाइ बहुमतमा अर्काे पक्ष रहेका बेला एमाले र माओवादी ब्यूँतिने फैसलाले केपी ओली राजनीतिक रूपमा एकाएक प्रभावशाली बन्नुभएको थियो ।

३० वटा रिटको सुनुवाइका लागि प्रधानन्यायधीश चोलेद्रशम्शेर जबराले आफू र श्रेष्ठसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संवैधानिक इजलाश गठन गर्नुभएको छ ।

शुक्रबारका लागि बहस सकिएको छ भने अब आइतबार बाँकी बहस हुनेछ । रिट निवेदक धेरै भएकाले प्रधानन्यायाधीश राणाले १० मिनेटमा आफ्नो बहस सक्न निर्देशन दिनुभएको थियो ।