१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधान बचाउने र सही दिशामा ल्याउने कार्यमा मेरो भूमिका रहन्छ– डा. खिमलाल देवकोटा


0
Shares

काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भूमिका हुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा सदस्यको रूपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भए पनि संसदलाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताउनुभयो ।

संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उहाँले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रीहरूसंसदप्रति उत्तरदायी देखिएका छैनन् । संसदलाई छलेर पटक–पटक प्रतिनिधिसभा विघटन गर्नु भनेको संविधान मास्ने, सिध्याउने र च्यात्ने खेल हो । संविधानलाई राइट ट्रयाकमा ल्याउन संसदबाट मेरो भूमिका हुन्छ ।’

डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको उहाँले बताउनुभयो । संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उहाँले बताउनुभयो ।

उहाँले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिनुभएको छ । डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समुहको सहयोगमा निर्वाचित हुनुभएको हो । उहाँले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्नुभएको थियो ।