
स्याङ्जा । जिल्लामा जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को शुक्रबारको बैठकले जेठ २५ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
प्रजिअ नेपालद्वरा जारी आदेशमा निषेधाज्ञालाई थप कडाईका साथ लागू गरिने उल्लेख गरिएको छ । निषेधाज्ञामा औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला गरिने भएको छ ।
निषेधाज्ञामा औषधि तथा औषधालयहरू, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी निर्वाध रूपमा चल्न पाउने छन् ।
यस्तै, कृषि मल तथा बीउबिजन बोक्ने गाडी,औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक नलागाइने प्रजिअ नेपालले बताउनुभयो ।
स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या ८४ पुगिसकेको छ । जिल्लाभर १ हजार ८ सय ६९ संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्