
बिराज रोस्यारा
कैलाली । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाउनु भएको छ । मन्त्री सुवेदीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाउनु भएको हो ।
मन्त्री सुवेदीले स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्न उठाउनु भएको हो । जवाफमा उहाँले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रीय कमिटीको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेश संगठन कमिटीमा अध्यक्ष र सचिवको व्यवस्था नरहेको स्मरण गराउनुभएको छ । हुँदै नभएको अध्यक्ष र सचिवको नाममा प्रेषित पत्रको आधिकारितामा नै प्रश्न चिन्ह लाग्ने उहाँले बुझाउनुभएको पत्रमा उल्लेख छ ।
मन्त्री सुवेदीले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने भएकाले समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताउनुभयो ।
एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै सुवेदीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
मन्त्री शाह र भट्टले पनि शुक्रबार नै स्पष्टीकरण बुझाउने तयारी गरेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा मन्त्री रहेका एमालेका शाह, सुवेदी र भट्ट माधव नेपाल समूहका हुन् ।



प्रतिक्रिया दिनुहोस्