१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा किचलो : ठाकुर पक्षका चार नेतालाई फेरि स्पष्टिकरण सोधियो


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टिकरण नआएको भन्दै फेरि पत्र पठाएको छ ।

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार पुन: स्पष्टिकरण माग्दै पत्र पठाइएको हो ।

पत्रमा जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि सोधिएको स्पष्टिकरणको जवाफ प्राप्त हुन नआएकोले पुनः दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टिकरण लिइ आउन भनिएको छ । पत्रमा म्याद भित्र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ ।

विभाजनको संघारमा रहेको जसपा भित्र दुवै पक्षले आफू आधिकारिक भएको दावी गर्दै एकले अर्कोलाई स्पष्टिकरण सोधेका थिए । ठाकुर पक्ष प्रधानमन्त्री ओलीको पक्षमा रहेको छ भने यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेको छ ।