
प्रकाश पाक्साँवा
तेह्रथुम । रोजगारीका लागि तेह्रथुमका युवाहरु विदेशिएपछि ग्रामीण क्षेत्रमा कृषि कामदारको अभाव भएको छ । स्वदेशमा रोजगारी नपाएको भन्दै युवाहरु विदेशिने गरेपछि गाउँमा मजदुरको अभाव भएको हो । जसले गर्दा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ ।
चियाखेती सुरु गरेका कृषकहरु दक्ष मजदुर नपाएकै कारण वर्षेनी लाखौं रूपैयाँ गुमाउँदै आएका छन् । तीन दशक अघिदेखि यहाँका कृषकले इलामको कन्यामबाट चियाको नर्सरी ल्याएर खेती सुरु गरेका थिए । यति बेला चिया बगान झाडीमा परिणत भएको छ । चियाको बजारीकरण नहुँदा र चियामा सरकारको ध्यान नजाँदा समस्या हुँदै आएको चिया उत्पादक कृषक कृृष्ण बहादुर बस्नेतको भनाइ छ ।
उद्योगहरूले समयमा भुक्तानी नदिने र बजारको राम्रो व्यवस्था नहुनाले पनि कृषकको लगानी बालुवामा पानी झै बनेको छ । चिया उद्योगसम्म हरियो चियापत्ती पु¥याउन भरपर्दाे सडक नहुनु र दक्ष कामदार नपाउँदा चिया खेतीको लगानी खेर गइरहेको चिया कृषक भरत बस्नेतको गुनासो छ ।
तेह्रथुममा मात्रै ३८ सय रोपनीमा चिया खेती हुँदै आएको छ । चिया खेतीको महत्व नबुझ्दा कृषक निरुत्साहित भएको चिया तथा कफी बिकास बोर्ड तेह्रथुमका कर्मचारी चन्द्र प्रसाद बास्तोला बताउनु हुन्छ ।
सुरुमा आफूले खानका लागि मात्र चिया रोप्दै आएका कृषकले आम्दानीको राम्रो स्रोत हुने सम्भावना देखेपछि चिया खेती विस्तार गरेका थिए । यहाँका कृषकले १० रोपनीदेखि ८० रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्