
घोराही । लुम्बिनी प्रदेशअन्तर्गत रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि भएको उप–निर्वाचनमा २ सय ९७ मत खसेको छ ।
सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २ सय ९७ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । तीन सय मतदाता रहेको प्रदेशमा तीन मत भने खसेन ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर मतदानमा सहभागी हुनु भएन भने अन्य दुई जना स्थानीय तहका प्रतिनिधि उपचारका लागि काठमाडौंमा रहेको निर्वाचन अधिकारी भट्टराईको भनाइ छ । उहाँका अनुसार प्रदेश सांसदहरू सबैजन मतदानमा सहभागी भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नुभएको हो । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उप–सभामुख, अन्य मन्त्रीहरूले मतदान गर्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्य पदका लागी नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसको तर्फबाट दिर्गनारायण पाण्डे उम्मेदवार हुनुहुनछ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको समर्थन छ ।
यस अघि लुम्बिनी प्रदेशका ७९ जना मात्रै मतदानमा सहभागी हुन पाउने भनिए पनि सर्वोच्च अदालतको फैसलापछि जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्यले नै मत दिन पाउने भएका हुन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ मतभार रहनेछ ।
लुम्बिनी प्रदेशमा रहेका १ सय ९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना जनप्रतिनिधि छन् ।
लुम्बिनी प्रदेश सभा सदस्यको कुल संख्या ८७ भए पनि अहिले भने ८३ जना मात्र छन् । जसमा एमालेका ४२ र विपक्षी गठबन्धनका ४१ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्