
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर ल्याउने भएको छ ।
सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल र अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताउनुभएको हो । उहाँले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्याउने बताउनुभयो ।
नागरिकको जीवन रक्षा, पर्याप्तय औषधि उपचारको व्यवस्था तथा प्रभावित आर्थिक–सामाजिक क्षेत्रलाई गतिशील बनाउन पुननर्जीवन कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र कोभिड–१९ महामारीको तेस्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य विपद्का लागि पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने मन्त्री गुरुङले बताउनुभयो ।
स्वास्थ्य पूर्वाधारहरूको विकास र विस्तार एवं पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्राथमिकता दिइने बजेटको सिद्धान्त तथा नीतिमा उल्लेख गरिएको छ । अस्पतालहरूमा अक्सिजन प्लान्टको व्यवस्थापन एवं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रोत्साहन लागि बजेट विनियोजन गर्ने मन्त्री गुरुङले बताउनुभयो ।
कोभिडका कारण प्रभावित व्यवसायहरूलाई जीवन्तता दिन सञ्चालित ‘व्यवसाय जीवन रक्षा कोष’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । सरकारले कोभिड–१९ बाट प्रभावित साना व्यवसायीको जीवन रक्षाका लागि चालु आर्थिक वर्षबाट १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।
यता विपक्षी दलका सांसदले विश्वासको मत लिएर मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । जनमोर्चाका ३ सभासदमध्ये २ जनाले विपक्षी मोर्चालाई सघाउँदा विपक्षी मोर्चासँग कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, संघीय समाजवादीका २ सहित ३१ जना सभासद हुन्छन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्