
काठमाडौं । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजेदेखि झण्डै ४ घण्टासम्म चलेको छलफलमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सरकारमा आएर सँगै काम गर्न आग्रह गर्नुभएको र आफूहरूले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको कर्णले बताउनुभयो ।
उहाँले तत्काल सरकारमा सहभागी नहुने बताउनुभयो । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा भएको र पार्टीमा पनि विवाद रहेकाले त्यसलाई लिएर छलफल पछि एक दुई दिनमा जवाफ दिने उहाँको भनाइ छ ।
कर्णले मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्