
काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार ऐतिहासिक रेकर्ड कायम भएको शेयर बजारमा सोमबार करेक्सन आएको छ ।
उतारचढावबीच बजार परिसुचक नेप्से ४५ अंकले ओरालो लागेर २७ सय ८२ विन्दुमा आएर थामिएको छ । सामुहिक लगानी कोष बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आउँदा पनि सोमबार १३ अर्ब हाराहारीको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।
यसदिन निर्जीवन बीमा समूह सबैभन्दा उच्च ३ सय ८० अंकले ओरालो लाग्दा जीवन बीमा समूहमा ३ सय ५६ अंकको गिरावट आयो । व्यापार समुह १ सय ६८ अंकले ओरालो लाग्दा जलविद्युत समूह १ सय २९ अंकले झर्यो ।
सोमबार २६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५६ कम्पनीको मुल्य घटेको छ । राठी जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा वरुण जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।
यसदिन २ सय १८ कम्पनीको ३ करोड ८८ लाख कित्ता शेयर १३ अर्ब ९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्