
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले विभाजनको डिलमा पुगेका दलहरूले आफैँमा आत्ममूल्याङ्कन गर्न नसक्नु र दोषजति कांग्रेसलाई दिनु भद्दा मजाक भएको टिप्पणी गर्नुभएको छ ।
पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको भन्दै लगाएको आरोपमा महतले जिम्मेवार मन्त्रीले लगाएको यो स्तरको प्रमाणहीन आरोप कांग्रेसका लागि टिप्पणीयोग्य नभएको तर्क गर्नुभयो ।
इमेज टेलिभिजनसँग कुराकानी गर्दै सह–महामन्त्री महतले आफ्नै पार्टीभित्रको राजनीतिक पद्धतिलाई स्थापित गर्न नसकेर एमाले र जसपा विभाजनउन्मुख भएको बताउनुभयो । पार्टीभित्रको विवाद मिलाउन नसक्ने र त्यसको दोष कांग्रेसलाई दिन नमिल्ने भन्दै महतले सर्वप्रथम पार्टीभित्रको द्वन्द्वलाई टुङ्ग्याउन सुझाव दिनुभयो ।
कुराकानीको क्रममा नेता महतले सर्वोच्च अदालते प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गर्नुभयो । पुनःस्थापना नभए पाँच दलको विपक्षी गठबन्धनको औचित्य सकिन्छ ? भन्ने प्रश्नमा उहाँले त्यसको व्याख्या समयसँगै आवश्यक्ता र औचित्यका आधारमा पुष्टि हुने बताउनुभयो ।
प्रतिगमविरुद्धको नारा दिएर एकै मोर्चामा उभिएका विपक्षी दलहरूले चुनाव भए गठबन्धन गरेर अघि बढ्ने विषयमा समेत छलफल चलाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्